राष्ट्रिय खेलकुदमा सशस्त्र प्रहरी टोलीको दादागिरी – America Nepal

Wednesday, December, 2016

राष्ट्रिय खेलकुदमा सशस्त्र प्रहरी टोलीको दादागिरी

अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले पूर्वाञ्चलको सामना गरेको थियो । एपिएफले खेल बहिष्कार गरेपछि प्राविधिक टोलीले पूर्वाञ्चललाई च्याम्पियन घोषणा गरेको छ । एपिएफका खेलाडीले रजत पदकसमेत बहिष्कार गरे ।
‘बल बाउन्ड्रीमा गएको छैन’
पूर्वाञ्चलले एपिएफलाई ६५ रनको लक्ष्य दिएको थियो । एपिएफलाई अन्तिम १२ बलमा १३ रन चाहिएको थियो । एपिएफसँग दुई विकेट बाँकी थियो । लक्ष्य पछ्याएको इनिङको १८औँ ओभरमा पूर्वाञ्चलकी कप्तान कविता गौतमले बलिङ गरेकी थिइन् । १८।४ बलमा एपिएफकी रितु कनौजियाले आकर्षक सट प्रहार गरिन् । बाउन्ड्री लाइनमा पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रितुद्वारा प्रहार बल समात्न सकिनन् । बल बाउन्ड्री घेरिएको डोरीनजिक खस्यो । त्यसपछि वेगम बललाई खुट्टाले रोक्दै बाउन्ड्री बाहिर गइन् र डोरी नाघ्दै बल टिप्दै क्रिजतर्फ फ्याँकिदिइन् ।
अम्पायर अधिद प्रधानले वेगमलाई बलले बाउन्ड्री लाइनको डोरीमा छोएको वा नछोएको भनी सोधे । वेगमले बल बाउन्ड्री लाइनभन्दा बाहिर नगएको बताइन् । अम्पायर प्रधानले वेगमकै कुरा सही माने । यतिवेलासम्म एपिएफका खेलाडी शान्त नै थिए । एपिएफले थप दुई बल खेल्यो । गौतमले दुवै बल वाइडका रूपमा फ्याँकिन् ।
अनि सुरु भयो विवाद
पूर्वाञ्चलकी खेलाडी गौतमले १८औँ ओभरको अन्तिम दुई बल वाइड फ्याँकेपछि एपिएफका खेलाडी विवादमा उत्रिए । अम्पायर र विपक्षी खेलाडीबीच मिलेमतो भएको दाबी गर्दै एपिएफका खेलाडीले मैदान छाडे । आयोजक र प्राविधिक पक्षले एपिएफका खेलाडीलाई सम्झाउने धेरै कोसिस गरेका थिए । आधा घन्टासम्म पनि एपिएफका खेलाडी मैदानमा आएनन् । फाइनल खेलका म्याच कमिस्नर सत्यजित सरकारले अन्तिम चेतावनी दिँदै एपिएफलाई पाँच मिनेटभित्र मैदानमा फर्कन र खेल्न आग्रह गरे । तर, एपिएफका ब्याट्सम्यान क्रिजमा फर्केनन् । म्याच कमिस्नर सरकारले पूर्वाञ्चललाई चार रनले विजयी घोषणा गरे ।
फरक तर्क
फाइनल खेल बहिष्कार गरेका एपिएफकी खेलाडी बिनु बुढामगरले आफूलाई अम्पायरले अन्याय गरेको प्रतिक्रिया दिएकी छिन् । ‘हामीहरूलाई अम्पायरले अन्याय गरेका छन्, त्यो बल चौका नै थियो, तर खेलाडीको झुटो कुरा सुनी चौका दिइएन,’ बुढामगरले भनिन्, ‘हामीले सत्यको पक्ष मात्र लिएका हौँ ।’
पूर्वाञ्चलकी कप्तान गौतमले एपिएफले सहभागिता जनाएको भए जित्ने सम्भावना रहेको बताइन् । ‘खेलमा हार र जित हुन्छ नै, तर सधैँ जित हुन्छ भन्ने छैन, एपिएफका खेलाडीले प्रतिस्पर्धा गर्दा जित हात पार्न सक्थे,’ गौतमले भनिन्, ‘अन्तर्राष्ट्रियस्तरका खेलाडीले खेल बहिष्कार गर्नु राम्रो होइन, यसले भविष्यमा आउने खेलाडीलाई राम्रो सन्देश दिँदैन ।’
एपिएफका खेलाडी अपशब्द बोल्दै मैदानबाट बाहिरिए
म्याच कमिस्नर सरकारले पूर्वाञ्चललाई विजयी घोषणा गरेपछि एपिएफका खेलाडी थप आक्रोशित भए । पूर्वाञ्चलका खेलाडीलाई अपशब्द प्रयोग गर्दैै एपिएफका खेलाडी मैदानबाट बाहिरिए । राष्ट्रिय टोलीकै सिनियर क्रिकेटर सीता रानामगरले विपक्षी खेलाडीलाई ‘माझी औँला’ देखाउँदै अपशब्द प्रयोग गरिन् । पूर्वाञ्चलका खेलाडीले एपिएफका खेलाडीहरूको व्यवहारप्रति कुनै प्रतिक्रिया भने दिएनन् ।
हामी रकम दिन्छौँ
एपिएफका खेलाडीहरूको रिस त्यतिमै सीमित रहेन । उनीहरूले पूर्वाञ्चलका खेलाडीलाई पैसाको लोभी भन्ने आरोपसमेत लगाए । ‘तिमीहरूसँग पैसा छैन भने हामी हाम्रो तलबबाटै दिन्छौँ, भन कति चाहिन्छ रु’ राष्ट्रिय टोलीकी सिनियर खेलाडी रानामगरले माझी औँला देखाउँदै भनिन् ।
सदस्यसचिव विष्ट फर्के
महिला क्रिकेट फाइनलपछि पदक वितरण गर्न गएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट बीचबाटै हिँडेका छन् । विवाद उत्पन्न नहुँदासम्म उनी मञ्चमै थिए । विवाद बढ्दै गएपछि उनी अन्यत्र लागे ।-नयाँ पत्रिका

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु