माओवादीको अयोग्य लडाकु “मिरा राई” यसरी बनिन विश्व च्याम्पियन – America Nepal

Tuesday, December, 2016

माओवादीको अयोग्य लडाकु “मिरा राई” यसरी बनिन विश्व च्याम्पियन

अल्ट्रा म्याराथनमा दौडिन थालेको १८ महिनामै मीरा राई विश्व वरियताको दोस्रो स्थान ओगट्न सफल भएकी छन् । अवसर र संकल्प भए जित टाढा छैन भन्ने उदाहरण बनेकी उनले १९ सेप्टेम्बर ०१५ मा स्पेनमा सम्पन्न ‘अल्ट्रा म्याराथन विश्व च्याम्पियनसिप’मा विश्व च्याम्पियनलाई पछ्याइन् । अहिले उनी नेसनल जोग्राफिक च्यानलको ‘एड्भेन्चर्स अफ दि इयर २०१७’ को छनोटमा परेकी छन् ।
अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रिय उपाधि विजेता २६ वर्षीया राईलाई नेसनल जोग्राफिकले २०१७ का १० साहसिक व्यक्तिको सूचीमा पारेपछि ‘पब्लिक च्वाइस’का लागि १६ डिसेम्बरसम्म अनलाइन भोटिङ हुनेछ । भोजपुरको विकट गाउँ सानोदुम्जाको विपन्न किसान परिवारमा जन्मेकी हुन् मीरा । जब उनी स्कुल जान थालिन्, धेरथोर समाजलाई चिन्न थालिन् । तब उनको मनमा प्रश्न खेल्न थाल्यो, ‘आमाबुबाले रातदिन मिहिनेत गर्दा पनि किन खान नपुगेको होला ? किन कोही धनी र कोही गरिब भएका होलान् ?’
धेरैलाई ‘अयोग्य लडाकु’ सावित हुनु पीडाको विषय बन्यो। तर, मीरा राईले त्यसलाई जीवनको प्रस्थान विन्दु बनाइन् ।
उनको मनमा यस्ता प्रश्न खेलिरहेका बेला माओवादी सशस्त्र द्वन्द्वको प्रभाव गाउँमा पुग्यो । उनी पढ्ने स्कुलमा सांस्कृतिक कार्यक्रम लिएर माओवादी पुग्थे र भाषण गर्थे । तिनका गीत र भाषणमा आफ्ना प्रश्नको उत्तर भेटेजस्तो लाग्न थाल्यो उनलाई । उनी भन्छिन्, ‘त्यसैले एक साताको तालिममा सहभागी हुने बहानामा म पनि माओवादीमा हिँडें ।’
आमाले अण्डासँग भुटिदिएको भात खाएर घरबाट निस्केको सम्झिन्छिन् उनी । घरबाट निस्किँदा बेजोड उत्साहले उनको खुन तातिएको थियो । सबै मान्छे बराबरी हुने दिन आउँछ भन्ने सपना टुसाएको थियो । ‘त्यसभन्दा बढीचाहिँ बन्दुक बोक्ने रहर थियो,’ उनी भन्छिन्, ‘पहिलो पटक कम्ब्याटमा सजिएका जनमुक्ति सेनाको सामुन्ने पुग्दा खुब रमाइलो लाग्यो ।’

b
पहिलोपल्ट बन्दुक बोक्न पाउँदा उनी खुशीले अवाक् भएकी थिइन् । भन्छिन्, ‘बन्दुक यत्तिकै डरलाग्दो कुरा हो । तर, त्यसबेला मलाई कहाँ डर लाग्नु ? कहिले छुन पाइएला भइरहेको थियो । बोक्न पाउँदा यति खुशी भएँ कि सीमा नै छैन ।’ बन्दुक बोक्न थाल्दा उनी १४ वर्षकी मात्र थिइन् । त्यसैले लड्न जानुपरेन । बरु छिमेकी जिल्ला खोटाङ, उदयपुरदेखि सुदूरपश्चिमका विभिन्न गाउँबस्ती पुग्ने मौका पाइन् । आफ्नो गाउँको भन्दा कता हो कता दुःख भेटिन् उनले सुदूरपश्चिममा ।
युद्धमा सँगै हिँडिरहेका साथीले ज्यान गुमाउँदा उनको मुटु सिरिंग हुन्थ्यो । तर, मान्छेमाथि भएको थिचोमिचो विरुद्धमै संघर्ष हुँदैछ भन्ने लागेको थियो । त्यसैले डर र आकर्षण दुवै थियो उनको मनमा । एक्कासि युद्धविराम र शान्ति प्रक्रिया सुरु भयो । जनमुक्ति सेनालाई शिविरमा पठाइयो । उनलाई लागेको थियो, युद्ध सकिएकाले समायोजनमा गए राम्रै होला ।
तर, समायोजनमा उनीलगायत धेरै साथी परेनन् । नपर्नुको कारण पनि उनीहरूले खासै थाहा पाएनन् । त्यतिबेला उनी जनमुक्ति सेनाको दोस्रो डिभिजन सिन्धुलीमा थिइन् । भन्छिन्, ‘शिविर छाड्दा साथीहरूबीच रुवाबासी भयो । देशमा शान्ति हुन्छ भने ठीक छ भन्ने लागेर निस्क्यौं । पछि हामीलाई युद्ध लडाएको पार्टीले नै पनि बेवास्ता गर्‌यो । त्यो देखेर भने दिक्दार लाग्यो ।’
मीरा आफू माओवादी आन्दोलनमा जोडिनुलाई जीवनको अवसरका रूपमा लिन्छिन् । युद्धका क्रममा नै आफूले व्यक्तित्व विकास गर्ने अवसर पाएको बताउँदै भन्छिन्, ‘म गरिब परिवारकी केटी, पार्टीमा नजोडिएको भए देशका विभिन्न ठाउँमा पुग्न कहाँ पाउनु ? त्यहाँका दुःख देखेर नै मैले अवसरको खोजी गर्ने सपना बुनें ।’
धेरैलाई ‘अयोग्य लडाकु’ सावित हुनु पीडाको विषय बन्यो । तर, उनले त्यसलाई जीवनको प्रस्थान विन्दु बनाइन् । क्यान्टोनमेन्टमा रहँदै उनले अधुरो पढाइ पूरा गर्ने अठोट गरिन् र प्राइभेट एसएलसी दिने तयारी गरेकी थिइन् । बाहिर निस्कनेबित्तिकै एसएलसी परीक्षामा सहभागी भएर उत्तीर्ण भइन् । तीन वर्षअघि उदयपुरको गाईघाटबाट जेटीए कोर्स पनि पूरा गरिन् ।
क्यान्टोनमेन्टमा हुँदा व्यक्तित्व विकासका लागि खेलकुदलगायत गतिविधि सञ्चालन हुन्थे । बाहिरबाट प्रशिक्षक झिकाएर तालिम दिइन्थ्यो । मीराले पनि शिविरमा कराँतेको प्रशिक्षण लिएकी थिइन् । त्यसै सन्दर्भमा बालाजु कराँते डो प्रतिष्ठानका प्रमुख प्रशिक्षक धु्रवविक्रम मल्लसँग उनको परिचय भयो । शिविरबाट बाहिरिएपछि उनी मल्लको सम्पर्कमा पुगिन् र उनकै आश्रयमा बसिन् । कराँतेको ब्ल्याक बेल्ट लिइन् ।
शिक्षक मल्लले उनको लामो समय खेलमा टिक्न सक्ने, नथाक्ने क्षमतामाथि ध्यान दिइरहेका थिए । त्यो गुण अल्ट्रा म्याराथनमा अब्बल सावित हुन सक्ने ठम्याएपछि ब्रिटिस लाहुरेको तयारी गरिरहेका युवाका साथ मीरालाई दौड अभ्यासमा पठाए उनले । मीराले ती सबै युवालाई दौडमा जित्थिन् । टोलीका प्रशिक्षक तथा नेपाली सेनाका अल्ट्रा रनर भीम तामाङले उनको खुबी पहिचान गरे ।
त्यसपछि मल्लसँगको सल्लाहमा तामाङले मीरालाई बालाजु गेटबाट मकवानपुरको फूलबारीसम्मको ५० किलोमिटर दूरीको हिमालयन अल्ट्रा रनिङ प्रतियोगितामा सहभागी गराए । ८ चैत ०७० मा भएको उक्त खेलमा उनले प्रथम स्थान हासिल गरिन् । त्यसपछि अल्ट्रा म्याराथन दौडको यात्रामा पछाडि फर्किनु परेको छैन ।
त्यसपछि उनले नेपालमा निकै प्रतियोगिता जितिन् । त्यसैक्रममा ६ वर्षदेखि विश्वभरका ट्रेल रनरलाई नेपाल ल्याएर व्यावसायिक रूपमा दौडाउँदै आएका ‘ट्रेल रनर नेपाल’ का संस्थापक रिचार्ड बुलको नजरमा परिसकेकी थिइन् । रिचार्डकै पहलमा विश्वस्तरीय खेलमा सहभागी हुने मौका पाइन् उनले । उनको पहिलो अन्तर्राष्ट्रिय खेल यात्रा सेप्टेम्बर २०१४ मा इटालीको सिलोरोडा ट्रेल रनिङबाट सुरु भयो ।
५७ किमिको उक्त दौडमा प्रथम हुँदै उनले त्यसअघिको रेकर्ड तोडिन् । त्यसपछि इटाली, हङकङलगायत ठाउँमा भएका खेलमा आफूलाई पहिलो स्थानमा कायमै राखिन् । विश्व वरियताको दोस्रो स्थान ओगट्नुअघि ११ असार ०७२ मा फ्रान्समा भएको ८० किमि माउन्ट ब्लांक अल्ट्रा म्याराथन विश्व च्याम्पियन बनिन् ।
आँखाभरी विश्व विजेता बन्ने सपना बोकेर संसारका पहाडहरूमा दौडिँदा केही महिनाअघि उनको खुट्टाको लिगामेन्ट फाट्यो । समस्याकै बीच उनले अल्ट्रा म्याराथनको विश्व च्याम्पियनको दोस्रो वरियता हासिल गरिन् । केही महिनाअघि इटालीमा उपचार गरेर फर्केपछि उनी अहिले विश्राममा छिन् । भन्छिन्, ‘मौका पाएँ । १८ महिनामै यति गरेँ । यो सुरुवात हो, अझै धेरै गर्नु छ मलाई ।
मेरो सपना आफूसँगै सम्भावना भएका अरू भाइबहिनीलाई अवसर र नेतृत्व दिनु पनि हो ।’ अहिलेसम्म उनको प्रतिभालाई चिन्ने बुल र अन्य केहीको व्यक्तिगत सहयोगले उनी यहाँसम्म आइन् । तर, देशको गरिमालाई अझ उचाइमा पु¥याउन राष्ट्रका तर्फबाट विशेष पहल हुनु आवश्यक रहेको उनको ठम्याइ छ ।
खुट्टा ठीक भएपछि आफू अझै धेरै कुद्ने र आफूले प्रशिक्षण दिएका बहिनीहरूलाई संसारका अनौठा पहाडहरूमा कुदाउने उनको सपना छ । आफ्ना उत्पादन बेचेर खेलाडीलाई सहयोग गर्ने फ्रान्सको स्पोर्टस् कम्पनी सालमनले पनि उनको यात्रामा केही सघाएको छ । उनी ट्रेल रनिङ नेपालकी प्रशिक्षक पनि हुन् । उनीबाट दीक्षित सुनमाया बुढा र पूर्णलक्ष्मी न्यौपाने एसियन च्याम्पियन बनिसकेका छन् ।
विभिन्न देशका अग्ला पहाडको टुप्पोमा पुग्दा उनलाई खुबै रमाइलो लाग्छ । भन्छिन्, ‘विभिन्न दौड जितेर देशको झण्डा फहराउँदा गर्वले ढक्क छाती फुल्थ्यो ।’ उनले जहाँ पुग्दा पनि ‘गोर्खाली छोरी’ भनेर सम्मान र माया पाइरहेकी छन् । उनी यो अपूर्व अवसरको श्रेय आफ्ना गुरु ध्रुवविक्रम मल्ल र सर रिचार्ड बुललाई दिन्छिन् । उनीमाथि लोयड बेल्चरले वृत्तचित्र ‘मीरा राई’ बनाएका छन् ।


प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु