Saturday, December, 2016

बन्दुक बोकेर दश बर्ष बिताएकी मिरा राई अहिले विश्व म्याराथनमा नेपाललाई चिनाँउदै

मंसिर २५, २०७३- नेसनल जियोग्राफी च्यानलले वर्षेनी वितरण गर्ने ‘एड्भेन्चररर्स अफ द इयर’ अवार्डको मनोनयनमा परेकी नेपाली अल्ट्रा धाविका मीरा राई अचेल त्यसकै भोटका लागि अपिल गरिरहेकी हुन्छिन् । अवार्डमा उनलाई जिताऊँ भन्दै सामाजिक सञ्जालमा व्यापक पहल पनि भइरहेका छन् । फ्रान्स र हङकङमा आयोजित विश्व म्याराथनमा सफलता हासिल गरेकी राई व्यक्तिगत प्रतिस्पर्धामा नेपालबाट विश्वस्तरमा छानिएकी पहिलो खेलाडी हुन् ।

भोजपुरमा जन्मेकी उनै पूर्वमाओवाडी लडाकु, मीराबारे शुक्रबार काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा ४२ मिनेट लामो डकुमेन्ट्री प्रदर्शन गरियो । लोयड बेलचरले निर्देशन गरेको ‘मीरा’ वृत्तचित्रमा मीराको संघर्ष र साहस खिचिएको छ । ‘उनलाई धेरैले नचिन्दा बेलादेखि नै मैले उनीमाथि फिल्म बनाउन थालेको थिएँ,’ निर्देशक लोयडले भने, ‘उनीमार्फत् लगनशीलता र अठोटले मान्छेलाई साहसी र सफल बनाउँछ भन्ने देखाउन खोजेको छु ।’

भोजपुरको सानो दुम्नादेखि इटाली र हङकङ सहरसम्मकै यात्रा फिल्ममा समेटिएको छ । युनिभर्सिटी अफ हङकङमा समाजशास्त्र अध्यापन गराउने लोयडले मीरालाई हङकङमै भेटेका थिए । त्यहाँ मीराको खेल देखेपछि र उनीबारे बुझै जाँदा कथा रोचक लागेको उनले बताए । ‘सामाजिक विषयवस्तुका फिल्म बनाउन मनपर्छ मलाई,’ फोटोग्राफरसमेत रहेका लोयडले भने, ‘मीराको कुरा समाजलाई प्रेरणा बन्न सक्छ भन्ने लागेपछि उनलाई पछ्याउन थालेँ ।’ विभिन्न देशमा प्रदर्शन भइसकेको फिल्म नेपालमा भने पहिलोपटक किम्फमा देखाइएको थियो ।

महोत्सवको दोस्रो दिन ‘मीरा’ सँगै ‘डटर्स अफ द कभ्र्ड मुन’, ‘द डल्स फनेरल’ र ‘लिचेज’ नामक महिला केन्द्रित चारवटा फिल्म प्रदर्शन गरिए । सबैमा दर्शकको भीड लोभलाग्दो थियो । मिरन्डा मोर्टन र सोफी डिया पेग्रमले बनाएको ‘…कभ्र्ड मुन’ मा जुम्लाका महिलाको बदलिँदो धारणा समेटिएको थियो । त्यसलगत्तै आर्नल्ड गलेन्टको ‘द डल्ज फनेरल’ प्रस्तुत गरियो जसमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएकी छोरीबारे अनविज्ञ आमाको रोदन देखाइएको थियो । हराएकी छोरी जीवित छैन भन्ने भएपछि कुशको मान्छे बनाएर दाह संस्कार गरिएका मार्मिक दृश्य फिल्ममा समेटिएका थिए ।

‘अझै पनि हजारौं मान्छे बेपत्ता छन्, तिनको अवस्थाबारे परिवारले सत्यतथ्य थाहा पाउनुपर्छ,’ इन्टरनेसनल कमिटी अफ रेडक्रसमा काम गरेका गलेन्टले भने, ‘मृत या जीवित टुंगो नहुँदा उसको परिवारले बेहोर्ने मानसिक पीडा भयावह हुन्छ ।’ रेडक्रसमै काम गर्दाताक बैजनी चौधरी (फिल्मकी प्रमुख पात्र) सँग भेट भएपछि उनीबारे फिल्म बनाउनु आवश्यक लागेको गलेन्टले बताए । १२ मिनेटको फिल्ममा बेपत्ता छोरीकी आमाको मनोदशा हृदयस्पर्शी छ । साँझको सोमा प्रदर्शित ‘लिचेज’ मा भने भारतीय निर्देशक पायल सेठीले महिला बेचबिखनको विषय उठाएकी छन् ।

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु