Wednesday, January, 2017

माओवादीहरुले हाम्रो भात खाए, पैसा पनि लिए अनि आमालाई पनि मारे !

२०६० साल साउन ३२ गते हाम्रो गाउँ रामेछापको दोरम्बामा माओबादीले पार्र्टी योजना निर्माण गर्न भनेर बैठक बसेको थियो । माओवादीले बैठक गर्दैछ भन्ने तत्कालीन शाही नेपाली सेनाले थाहा पाएछ । गाउँको शिक्षक युवराज मोक्तानको घरमा माओबादी नेता तथा कार्यकर्ताहरु छलफल गरेर बसेका रहेछन् । त्यही समय पारेर मन्थलीबाट तत्कालीन मेजर राममणि पोखरेलको नेतृत्वमा आएको नेपाली सेनाले घेराउ गर्दा २१ जना माओबादी नेता तथा कार्यकर्ता मारिए ।

यो घटनापछि हाम्रो गाउँमा ठूलो सन्त्रास छाएका थियो । हामी जस्तो सर्वसाधारण बाच्नको लागि पहिलाभन्दा झनै डरमर्दो अवस्था भयो । किनकि, हामी सबै गाउँलेहरु माओबादी तथा सेनाको निशानामा थियौं । माओबादीलाई संरक्षण दिएको अरोप सेनाले लगाउँथे भने सेनालाई सुराकी दिएर हाम्रो साथीहरु शहिद भएको भन्दै माओबादीहरु आक्रोशित भएका थिए । दोरम्बा घटनाले हाम्रो गाउँमा हैन, देश विदेशमा तरंग ल्याएको थियो । त्यस घटनाको पक्ष तथा विपक्षमा आवाज उठ्न थालिसकेको थियो । त्यो घटना सही वा गलत के थियो हामी जनताले छुट्याउने अवस्था थिएन । हामी अब के हुने हो र कतिबेला मरिने हो भन्ने अवस्थामा थियौं ।

मेरो आमा रेलिमाया तामाङ २०६० साल भदौ १५ गते माओबादीको अपहरणमा पर्नुभयो । ४४ वर्षको एउटा महिलालाई माओबादीले कायरपन देखाएर अपहरण गर्‍यो । आमा घरमै हुनुहुन्थ्यो २ जना केटी घरमै आए । ‘तपाईलाई तल बोलाएको छ । तपाईसँंग काम छ ’ भन्दै लिएर गए । त्यसपछि हामी सशंकित भयौं । माओबादीहरुले ‘अब कसैलाई बाँकी राख्दैन, सुराकी यही गाउँमै छ’ भन्दै गाउँगाउँ हिडेका थिए । निर्दोष भए पनि बन्दुकको अगाडि नडराउने गाउले कोही थिएनन् ।

माओबादीको डरले गाउँबाट धेरैजसो विस्थापित नै भईसकेका थिए । हामी चाहीँ आमाको कारणले गाउँमै बसेका थियौ । ‘गल्ती नै छैन किन डराउनु’ भन्दै आमा नडराई उनीहरुसँंग जानुभयो । आमालाई लगेको केही समयपछि गोली पड्केको आवाज आयो । हामी झनै शसंकित बन्यौ । हाम्रो आमासँंगै गाविस अध्यक्ष भिमबहादुर तामाङलाई पनि लगेको रहेछ । भिम बहादुर आलु व्यावसाय गर्ने व्यापारी र नेपाली कांग्रेससँंग आवद्व थिए । त्यसैगरि डिकबहादुर तामाङलाई पनि लगेको रहेछ । त्यो दिने त्रासमै बित्यो खबर गर्न नजिकै प्रहरी चौकी थिएन । गाउलेहरु खोज्दै जान असम्भव थियो ।

भोलिपल्ट डाँडामा मेरो आमाको लास भेटियो । गोली ठोेकेर विभत्स तरिकाले रक्ताम्मे पारेर मेरो आमाको हत्या गरिएको थियो । तर लास देखे पनि त्यो लास उठाउने हिम्मत कसैमा थिएन । पर्सीपल्ट सेनाको हेलिकप्टर आएर लास उठाएर गयो । मेरो आमासँंगै अरु २ जनालाई पनि माओबादीले हत्या गरेको थियो । जसको वर्णण म गर्न सक्दिनँ । जनयुद्धमा माओबादीले मारेको पहिलो महिला सर्वसाधारण मेरी आमा हुन् ।

आमा स्वास्थ्य कार्यकर्ता हुनुहुन्थ्यो । दोरम्बा हत्याकाण्ड भएको केही समयपछि भदौ ८ गते आमा औषधि लिन काठमाडौं आउनुभएको थियो । काठमाडौं आएर गाउँ फर्किएपछि त्यति अगाडि घटेको घटनाको सुराकीको आरोपमा मेरो आमालाई माओबादीले हत्या ग¥यो । जुन आरोप कुनै पनि तरिकाले सही थिएन । अनुसन्धान नै गरेको भए पनि सही सावित हुँदैन थियो । हामी एमाले कांग्रेस र माओबादी कुनै पार्टीमा संलग्न भएको मान्छे होईनौं । आमा सरकारी कर्मचारी भएको नाताले त्यस्तो गर्नुपर्ने जरुरी नै थिएन । मलाई लाग्छ माहोबादीले सरकारसंँगको बदला हाम्रो परिवारसंँग लियो । नत्र निर्दोष सरकारी कर्मचारीकोे हत्या गर्ने अन्य कुनै कारण थिएन ।

आमा बिहान बेलुका आफ्नै घरमा औषधि पनि बेच्नुहुन्थ्यो । मेरो आमालाई माओबादीले किन मार्‍यो यसको जवाफ हाम्रो परिवारले पाउन सकेको छैन । जनयुद्वको समयमा हामीले माओबादीलाई धेरै सहयोग गरेका थियौं । सहयोग नगरी बस्ने अवस्था थिएन । बन्दुक देखाकै भरमा गाउँमा गएर भान्सामै पसेर खाने र घरमै बस्ने गर्थे माओवादीहरु । हामीले माओबादीलाई १ लाख रुपैयाँ चन्दा पनि दिएका थियौं । त्यो चन्दा ज्यान बचाउन पहिले नै तिरिएको फिरौति जस्तो हो ।

सोलु सल्लेरीको घटनामा घाईते हुँ र बिरामी पर्दा र हात डुँडे हुदाँसमेत मेरो आमाले माओबादीहरुलाई निशुल्क सेवा दिन बाध्य हुनुभयो । रगत र पिप बगेका घिनलाग्दो मानिसहरुको उपचारको बदला मेरो आमालाई माओबादीले हत्या गर्‍यो । तिनीहरुमा अलिकति पनि मानवता थिएन । जसले आमाबाट उपचार पाए, जसले हाम्रो घरको भात खाए, जो हाम्रो घरमा सुते, तिनीहरुले नै आमालाई मारे ।

तर, त्यस्तो अपराध गर्दा पनि उनीहरुले सजाए पाएनन् । सजाए दिनु त कता हो कता पछि प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै ‘युद्वमा छिटपुट घटना हुन्छन । धान पिस्दा घुन पिसिनु ठूलो कुरा होईन् ’ भन्दै आमालाई पनि घुन बनाइदिए । यस्तो अभिव्यक्तिले हम्रो घाउमा झनै नुनचुक छर्‍यो ।

माअाेवादीद्वारा हत्या गरिएकी निर्दाेष रेलीमाया मोक्तान

निर्दोषको हत्या हुनु र दोषी खुलेआम हिड्नु यो कस्तो न्याय हो ? मलाई थाहा छ यो सबै पैसा र पावरको कारणले भईरहेको छ । यो १३ वर्षमा केही हुन सकेन । अब पनि केही होला भन्ने आश छैन । निर्दोष मेरी आमालाई किन हत्या गरियो ? यसको जवाफ नपाउन्जेलसम्म मेरो परिवारले सन्तोषको सास फेर्न सक्दैन । नत निदाउन नै सक्छ । न त केही गर्न नै यही प्रश्नले विगत १३ वर्षदेखि हामी मानसिक रुपमा विक्षिप्त भएका छौं । अझैपनि भईनै रहेका छौं ।

जीवन चलाउन जसो तसो बाच्नु पर्छ । हामी बाच्नु भनेको नै त्यसको जवाफ खोजी गर्नु हो । जनयुद्ध नामका आपराधिक घटनाका हामी पीडित हौं । शहीद परिवारलाई सरकारले छात्रवृत्ति दिने व्यवस्था गरेको थियो । छात्रवृत्ति लिन म गाउ गएको थिएँ । तर, अर्कैले झिकेर लगिसकेछ । सरकारले दिने अन्य राहतमा पनि धेरै नै झेल भयो । त्यसको आधिमात्र हामीले किस्ता किस्ता गरेर पायौं, जसको कारण त्यो राहत काम लागेन । आमाको हत्या पछि हामी पूर्ण रुपमा विस्थापित भएका छौं ।

मैले आफ्नो पढाई निरन्तर गर्न पनि पाइनँ । त्यसपछि हामी गाउ फर्कन सकेका छैनौं । आमाको हत्या गरेर पनि माओबादीलाई पुगेन हाम्रो घरको औषधि भाडाकुडा लत्ताकपडा सबै लुटेर ताला लगााईदियो । बुवा ठेक्कापट्टाको काम गर्नुहुन्थ्यो । आमाले मेडिकलमा काम नगरि घर व्यवहार चलाउन गाहे थियो । आमाको हत्यापछि हामी मानसिक र आर्थिक रुपमा विक्षिप्त भएका छौं । त्यसमाथि यत्रो वर्षसम्म न्याय नपाउँदा हाम्रो धैर्यताको बाँध टुटिसकेका छ । मेरो आमालाई अनाहकमा किन मारियो ? यसको जवाफ यो १३ वर्षसम्म पाएको छैन । हामी यसको जवाफको प्रतिक्षामा छौं । गल्ती गरेको हो भने राज्यले प्रमाणित गर्नुपर्‍यो नत्र सत्य तथ्य छानविन गरेर न्याय दिलाउनुपर्‍यो ।

हामीले धेरै ठाउमा उजुरी गर्‍यौ न्याय कतैबाट पाईएन । अब त झन न्याय पाउने आश छैन । किनकि, अब दोषी नै सत्ता र त्यसको वरीपरी घुमिरहेको छ । हामीले मनको शाान्तिको लागि भएपनि सत्य निरुपण तथा मेलमिलाप आयोगमा मुद्धा दर्ता गरेका हौ । हामी ज्यानको बदला ज्यान भन्दैनौं । किनकी हामी मान्छे हौं । अरुको रगत पिएर खुसी हुने हामी माओवादी पनि होइनौं । हामी आपराधिक मानसिकताका छैनौं । युद्धका नाममा भएका हत्या र हत्यारालाई कारबाही गर्दै जाने हो अहिलेका धेरै नेताहरु कारबाहीमा पर्छन । हामी बदला भन्दा पनि हत्याको कारण र न्यायको खोजीमा छौं ।

जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड दुई पटक प्रधानमन्त्री बनिसक्नुभयो । उहाँको निर्देशनमा नै धेरै निर्दोष नेपालीहरुले ज्यान गुमाउनुपर्‍यो । म जस्ता धेरै छोराछोरी टुहुरा भए । धेरै दिदीबहिनीहरुको सिन्दुर पुछियो । धेरै बुवाआमाले निर्दोष छोराछोरी गुमाउनुपर्‍यो । देश परिवर्तन गरेर हिड्छु भन्ने हाम्रो दाजुभाई शहिद भए । प्रचण्ड बारम्बार भन्नुहुन्छ ‘धान पिस्दा घुन पिसिनु स्वाभाविक हो ।’ हाम्रो निर्दोष आमाको हत्या भएको छ । हामी टुहरा भएका छौं । धेरै दिदी बहीनीको सिउँदोको सिन्दुर पुछिएको छ । यस्तो अवस्थामा उहाँको त्यस्तो अभिव्यक्तिले हाम्रो मन कति दुख्छ । प्रधानमन्त्रीज्यू ! हामीलाई टुहुरो हुँदा भन्नुहुन्थ्यो ‘देश परिवर्तन गर्छु । म जस्ता टुहुरो र विधुवा धेरै भए खोई परिवर्तन ! खोई विकास ! खोई न्याय ! खोई हामीलाई जवाफ ।

(रेलीमाया मोक्तानकी छोरी ममता मोक्तानसँंग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित) -साभार: नेपाल आज

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु