Tuesday, January, 2017

किन सँगै बस्दैनन् पारस र हिमानी ? कारण यस्तो !

काठमाडौं । आफ्ना उद्दण्ड गतिविधि र पारिवारिक किचलोका कारण सधैँ चर्चा र विवादमा छाइरहने पूर्वयुवराज पारस शाह पछिल्ला दिनमा गुमनामझैँ छन् । कुनै वेला रक्सी, गाँजा, चरेस र झैझगडा उनको पर्यायझैँ मानिन्थ्यो । यिनै कारणले पारस सधैँ समाचारमा छाइरहन्थे । तर, पछिल्लो समय उनी समाचारका हेडलाइन पनि बन्न छाडेका छन् । पारसनिकट स्रोतका अनुसार पछिल्लो समय उनले मदिरा र लागुऔषधको लत त्यागेर ध्यान र योग गर्ने बानी बसालेका छन् । आध्यात्मिक बहस गर्न रुचाउँछन् । वेलावेलामा पुराना सहपाठी र साथीहरूसँग भेटघाट र छलफल गर्छन् । वेलावेला आफू पढेको बूढानीलकण्ठ स्कुल गएर फुटबल र गोकर्ण पुगेर गल्फ पनि खेल्छन् ।
बिरानो बन्यो दरबार

पूर्वयुवराज पारस बैंककमा एक्लै लामो समय बसे । त्यहीँ उनी गम्भीर बिरामीसमेत भए । बैंककको रामरउसमा दिन कटाएका पारस बिग्रिएको स्वास्थ्य लिएर १९ चैत ०७१ मा थाई एयरबाट काठमाडौं ओर्लिए । यद्यपि, बैंककमा उनको उपचार गरिएको थियो ।
विमानस्थलमा पारसको स्वागतका लागि शिवसेनाको नेतृत्वमा ठूलो भीड जम्मा भएको थियो । बुबाआमा, पत्नी र छोराछोरी बसिरहेको निर्मलनिवास नगएर उनी पूर्वआइजिपी हेमबहादुर सिंहका छोरा प्रभञ्जन सिंहको बा.३च ५४०६ नम्बरको गाडी चढेर चण्डोलस्थित कुन्डलिनी क्लब पुगे । स्रोतका अनुसार त्यतिवेला पारसले पत्नी हिमानी आफूलाई लिन विमानस्थल आउने अपेक्षा गरेका थिए । उनको चाहना सीधै निर्मलनिवासमा गएर बस्ने थियो ।
तर, न हिमानी विमानस्थल गइन् न त पारसलाई निर्मलनिवासमा प्रवेशको अनुमति दिइयो । ‘शुभसाइत’ जुराएर मात्रै दरबारमा भित्राउने भनियो । पारसलाई कुुुन्डलिनी क्लबमै बस्ने चाँजोपाँजो मिलाइयो । त्यहाँ पारस १० दिन बसे । पारसले क्लबमै छोराछोरी र बहिनीहरूसँग भेटघाट गरे । छोराछोरीसँगको फोटो पनि उनले सार्वजनिक गरे ।
बहिनी शीताष्माको आश्रयमा
कुन्डलिनी क्लबबाट पारस बहिनी शीताष्मा (काका धीरेन्द्र शाहकी माइली छोरी)को घर जीवनकुञ्ज सरे । बैंकक बसाइमा पारसलाई खर्चको जोहो गरेर साथ पनि शीताष्माले नै दिने गरेकी थिइन् । पारस काठमाडौं आएको महिना दिन नबित्दै १२ वैशाख ०७२ मा गएको भूकम्पले जीवनकुञ्ज चर्कियो । शीताष्माको परिवार जीवनकुञ्जबाट ललितपुरको सुनाकोठीस्थित विकास राणाको घर भाडामा लिएर बस्न थाल्यो । पारस पनि शीताष्माको परिवारसँगै त्यहीँ बसिरहेका छन् ।
किन सँगै बस्दैनन् पारस र हिमानी ?
पारस र हिमानीको वैवाहिक सम्बन्ध सुमधुर छैन । पारस नेपाल फर्केको दुई वर्षको अवधिमा उनीहरूबीच दुई–चारपटक मात्रै भेट भएको स्रोतहरू बताउँछन् । त्यो पनि औपचारिकतामा मात्रै सीमित हुने गर्छ । गएको दसैँ–तिहारमा पारिवारिक भेटघाट भयो । त्यसअघि १५ असोज ०७३ मा हिमानीको जन्मदिनको अवसरमा पारसले सोल्टी होटेलमा हिमानीसहित परिवारका अन्य सदस्यसँग भेटघाट गरेका थिए । त्यसयता उनीहरूबीच भेटघाट नभएको स्रोत बताउँछ ।
‘भविष्य हेर्ने’ केही माताले दरबारलाई दिने सुझाबले पनि पारस र हिमानीलाई सँगै बस्न दिएको छैन । ग्रहदशा बिग्रिएको भन्दै डेढ वर्ष पति–पत्नी छुट्टाछुट्टै बस्नुपर्ने सुझाब माताहरूले दरबारलाई दिएका छन् । पारसका मित्र प्रभञ्जन सिंहले दरबारमा थरीथरीका सुझाब पुगेकाले राजपरिवारका सदस्यबीच बेमेल देखिएको बताए ।
निर्मलनिवास पुग्ने हरेक माताले डेढ वर्ष पति–पत्नी सँगै बस्न नहुने र ०७४ सालपछि राजतन्त्र फर्किने सुझाब नछुटाई दिने गरेको पारसनिकट स्रोत बताउँछ । सविता सरु र अर्की एक माताले अझ धेरै यस्ता सुझाब दिने गरेका छन् ।
मठमन्दिर धाउँदै पारस
पूर्वयुवराज पारस पछिल्लो समय पूजापाठमा पनि सक्रिय छन् । विभिन्न मठमन्दिर पुगेर पूर्जाअर्चना गरिरहेका छन् । पछिल्लोपटक २६ मंसिर ०७२ मा उनी बहिनी शीताष्माका साथमा ललितपुरको बगलामुखी मन्दिरको दर्शन गर्न गएका थिए । पारसका मित्रहरूका अनुसार वेलावेलामा हजुरआमा रत्नलाई भेट्न नारायणहिटी पनि पुग्छन् ।
वेलावेलामा पुराना साथीसँग भेटघाट र छलफल पनि गर्छन् । पारसका मित्र प्रभञ्जनका अनुसार बिहान ५ बजे उठिसक्ने पारस योगा र ध्यान गर्छन् । कहिलेकाहीँ बूढानीलकण्ठ स्कुलमा फुटबल र गोकर्ण पुगेर गल्फ पनि खेल्ने गरेको उनले बताए ।
पारस राजनीतिभन्दा आध्यात्मिक पुस्तकमा बढी रुचि राख्छन् । उनी कहिलेकाहीँ मृगस्थली पुगेर मित्र प्रभञ्जनसँग आध्यात्मिक बहस पनि गर्छन् । अचेल योगी व्यग्र वेदनाथ बनेका प्रभञ्जनसँग पारसको बढी संगत छ । आर्ट अफ लिभिङदेखि पूर्वीय दर्शनका सन्त–महन्तहरूसँगको छलफल एवं अन्तक्र्रियामा उनले जोड दिइरहेको प्रभञ्जनले बताए । ‘आध्यात्म र हिन्दूधर्म दर्शनका मौलिक पक्षलाई विश्वभर विस्तार गर्नुपर्छ र त्यसको संरक्षणमा जोड दिनुपर्छ भन्नेमा बढी नै चासो राख्नुहुन्छ,’ उनले भने ।
गत ३१ जेठमा मित्र प्रभञ्जनकै योजनामा पूर्वयुवराज पारस खप्तड पनि पुगेका थिए । उनको टोलीमा बहिनी शीताष्मा, प्रभञ्जन, राजेन्द्र सिंह, राजेश सिंहलगायत सहभागी थिए । उनीहरूले खप्तड यात्रामा १० दिन बिताएका थिए ।
२८ जेठ ०७३ मा पोखरा पुगेका पारस केही दिन पुराना सहपाठीसँगको जमघटमा रमाए । बूढानीलकण्ठ स्कुलमा सँगै (सन् १९८३–१९९० एडी) पढेका उनका सहपाठीले जलमहल रिसोर्टमा ग्रान्ड गेट–टुगेदर गरेका थिए । जलमहलका म्यानेजर दिनेश प्रसाईं पारसका सहपाठी पनि हुन् । प्रभञ्जनका अनुसार पारस सहपाठीसँग मिलेर विद्यालयमा पुस्तक, खेलकुदका सामग्री वितरण गर्नेजस्ता सामाजिक कार्यमा संलग्न भइरहेका छन् ।
८ माघ ०७२ मा पारस रुद्रायणी देवीको दर्शनका लागि ललितपुरको खोकना पुगेका थिए । २३ भदौ ०७३ मा उनले दक्षिणकाली मन्दिर पुगेर कुलदेवीको पूजाअर्चना गरेका थिए । त्यहाँबाट फर्किंदा चोभारस्थित जलविनायक मन्दिरमा प्रसाद ग्रहण गरे । २५ साउन ०७३ मा पारस पशुपति दर्शन गर्न गएका थिए ।
मदिरा छाडेका छन्
एकजमाना थियो, मदिरा सेवन गरेपछि पूर्वयुवराज पारसले कुनै–कुनै फन्डा गरेकै हुन्थे । रक्सीले मातेर उनले कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरी र बुबा ज्ञानेन्द्रका साथी प्रभाकरशमशेरका छोरासँग झगडा गरेका थिए । तर, पछिल्लो समय उनले मदिरा पिउन छाडेको उनीनिकट स्रोतहरूको दाबी छ । हरेक दिन बिहान योग गर्ने बानी विकास गरेका छन् । योगी बनेका साथी प्रभञ्जनले उनलाई योग सिकाएका हुन् । पारसले आहारमा पनि ध्यान दिन थालेका छन् । पूर्ण तन्दुरुस्त नभए पनि थाइल्यान्डबाट फर्किंदाको भन्दा अचेल केही मोटाएका छन् । पारसले अचेल लामो कपाललाई ‘स्ट्रेट’ पारेका छन् । ‘लुक्स चेन्ज भएको छ,’ स्रोत भन्छ ।
गोरखानाथ पनि पुगे
शाह राजाहरू गोरखनाथको दर्शन गर्न जाँदैनथे । तर, पूर्वयुवराज पारसले उक्त परम्परा तोडेका छन् । बैंककबाट फर्केपछि उनी दुईपटक मृगस्थलीस्थित गोरखनाथ मन्दिर पुगेर दर्शन गरेका छन् । ‘गोरखनाथको दर्शन गर्न हुँदैन’ भनी चलाइएको गलत हल्ला तोड्न पनि पारस दर्शनका लागि आएको प्रभञ्जनले बताए ।
‘केही दिन पहिला पनि आउने कुरा रहेछ । म बाहिर भएकाले नआउनुभएको खबर पाएको छु,’ प्रभञ्जनले भने । प्रभञ्जन गोरखनाथ मन्दिरमै बस्ने गर्छन् । पछिल्लोपटक गुरुपूर्णिमाका दिन पारस गोरखनाथको दर्शन गर्न गएको स्रोतले जनाएको छ ।
नियमित स्वास्थ्य परीक्षण गराउँछन्
अहिले पनि पारस नियमित उपचारको फ्लोअपमा जाने गरेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उनले स्वास्थ्य परीक्षण गराइरहेका छन् । स्वास्थ्यमा सुधार पनि भइरहेको छ । ०७२ वैशाखको पहिलो साता अस्वस्थ भएपछि पारस तीन दिन थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।
१५ पुसमा जन्मदिन मनाउने तयारी
१५ पुस पूर्वयुवराज पारसको जन्मदिन हो । त्यो दिन भव्य बनाउन कहाँ के कार्यक्रम गर्ने भन्ने अहिलेसम्म प्रस्ट भइसकेको छैन । तर, बहिनी शीताष्माकै घरमा पार्टी हुन सक्ने उनीनिकट स्रोतहरूको दाबी छ । अनावश्यक बाहिर घुम्न नरुचाएका पारस केही आध्यात्मिक कार्यक्रममा भने सहभागी हुन सक्ने प्रभञ्जनको भनाइ छ ।
गणतन्त्र घोषणापछि पारस सम्बन्धित मुख्य घटना
१७ असार ०६५ मा पूर्वयुवराज पारस सिंगापुर गए । त्यहाँ अपार्टमेन्ट किनेर दुई वर्ष बसे । सिंगापुरमा रहँदा त्यहाँको द न्यु पेपर नामको पत्रिकामा अन्तर्वार्ता दिएर पारसले पहिलोपटक दरबार हत्याकाण्डबारे मुख खोले । २००९ मार्च ३० मा छापिएको उक्त अन्तर्वार्तामा जर्मन हतियारको विषयमा विवाद हुँदा तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गराएको दाबी उनले गरेका थिए ।
२६ मंसिर ०६७ मा चितवनको टाइगर टप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीसँगको झगडापछि पक्राउ परे । आइन्दा त्यस्तो काम नगर्ने सर्तमा रिहा भए ।
७ कात्तिक ०६९ मा थाइल्यान्डको फुकेटबाट ३ दशमलव ४ ग्राम गाँजासहित पारस पक्राउ परे । उक्त मुद्दामा १० हजार थाई भाट तिरेर उनी रिहा भए ।
२२ मंसिर ०७० मा हृदयाघातपछि अस्पताल भर्ना भएका पारसको १२ दिनपछि होस खुल्यो ।
साउन ०७१ मा थाइल्यान्डकै होटेल डेभिसबाट ११ दशमलव ७ ग्राम गाँजासहित प्रहरीले पारसलाई फेरि पक्राउ गर्‍यो ।
थङ्डो प्रहरी स्टेसनमा राखिएका उनी १५ लाख थाई भाट तिरेर धरौटीमा रिहा भए ।
१९ चैत ०७१ मा पूर्वयुवराज पारस थाई एयरको उडानबाट १२ः३३ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए ।
०७२ वैशाख पहिलो साता पारस अस्वस्थ भए ।
२६ मंसिर ०७२ मा पारसले बहिनी शीताष्माका साथमा ललितपुरको बगलामुखी मन्दिरको दर्शन गरे ।
८ माघ ०७२ मा रुद्रायणी देवीको दर्शनका लागि ललितपुरको खोकना पुगे ।
२८ जेठ ०७३ मा पोखरा पुगेका पारसले ३ दिनसम्म पुराना केही सहपाठी साथीसँग भेटघाट र जमघट गरे ।
३१ जेठ ०७३ मा मित्र प्रभञ्जन सिंह अर्थात् योगी व्यग्र वेदनाथको योजनामा पारस डोटी सिलगढीबाट खप्तडतर्फ लागे र केही दिनपछि मात्रै उनी काठमाडौं फर्किए ।
२३ भदौ ०७३ मा पारसले दक्षिणकाली मन्दिर दर्शन गरे ।
१५ असोज ०७३ मा पत्नी हिमानीको जन्मदिनका अवसरमा होटेल सोल्टीमा जमघट र खानपिन गरे ।
२५ साउन ०७३ मा पारसले पशुपतिनाथको दर्शन गरे ।

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु