वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस र सुन्तलीले देश बनाउने नेतालाई चुनौती दिएको बताए – America Nepal

Tuesday, January, 2017

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस र सुन्तलीले देश बनाउने नेतालाई चुनौती दिएको बताए

आगामी बर्षको बैशाख १ गते हस्तान्तरण गर्ने गरी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले महोत्तरीको बर्दिवास नगरपालिकामा ‘एकिकृत नमुना मुसहर बस्ती’ को शिलान्यास गरेका छन् । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ ले धुर्मुस सुन्तलीले बनाउने एकिकृत नमुना मुसहर बस्तीको सोमबार शिलान्यास गरेका हुन् ।मुसहर बस्ती निर्माणको शिलान्यास गर्दै मह जोडीले धुर्मुस र सुन्तलीलाई जन्मदिने आमा बुवालाई धन्यवाद दिए । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस र सुन्तलीले देश बनाउने नेतालाई चुनौती दिएको बताए । उनले भने, हामी नेपालीहरु विकास चाहान्छौं । शान्ति चाहान्छौं । सबै एकजुट भएको हेर्न चाहान्छौं । हामी कलाकारले त केही गर्न सक्छौं भने नेताहरुले त धेरै गर्न सक्छन् ।’देशको लागि हँसाउने काम गरेकोमा धुर्मुस सुन्तलीका आमा बुवालाई बधाई दिंदै हरिवंशले भने, ‘तराईमा पनि पहाडियाले बस्ती बसाल्न सक्दछ भन्ने सन्देश धुर्मुस र सुन्तलीले दिएका छन् । हिमाल, पहाड र तराई मिलेर नै हाम्रो देश बन्न भन्ने उनीहरुले उदाहरण दिएका छन् ।’

b

यस्तै कलाकार जितु नेपालले धुर्मुस र सुन्तलीको अभियान सबैको अभियान रहेको बताउँदै देशको सबै बस्ती बन्नु पर्ने धारणा राखे । अर्का कलाकार किरण केसी ‘राता मकै’ ले धुर्मुस र सुन्तलीलाई हौसला प्रदान गर्न शिलान्यास कार्यक्रममै आफ्नी पत्नीको हातबाट रु.दश हजार नगद प्रदान गरे । पचास वटा घर, एउटा मन्दिर, एउटा बाल उद्यान, सार्वजनिक धाराहरु, सामुदायिक भवन, चौतारो सहितको मुसहर बस्ती निर्माणको लागि ४ करोड ७८ लाख लागतको अनुमान गरिएको छ । गिरान्चौर बस्ती निर्माणबाट उब्जिएको एक करोड र बाँकी सहयोग रकम गरी हालसम्म करिब १ करोड ८० लाख रकम संकलन भैसकेको र बाँकी रकमका लागि देश तथा विदेशमा रहेका सहयोगी मनसँग धुर्मुस सुन्तलीले सहयोग मागेका छन् । धुर्मुसले भनेका छन्, ‘हाम्रो जस्तो देश विकासको लागि एकिकृत नुमना बस्ती नै उत्तम हो । यो हाम्रो अभियानमा सबैलाई साथ दिन आग्रह गर्दछौं ।’

c

सोमबार गरिएको मुसहर बस्तीको शिलान्यास कार्यक्रममा मह जोडी सहित किरण केसी, जितु नेपाल लगायत अन्य हाँस्य व्याङग्य कलाकारहरु सहभागी थिए । धुर्मुस सुन्तली सहित राजधानीबाट गएका कलाकारहरुलाई स्थानियले फूल र मालाले स्वागत गरेका थिए । स्कूले बालबालिका देखि स्थानिय, क्लब तथा प्रशासनले धुर्मुस र सुन्तलीको यो सामाजिक अभियानको जय जयकार गरेका थिए भने आ-आफ्नो क्षेबाट मुसहर बस्ती निर्माण गर्न धुर्मुस सुन्तलीलाई सहयोगको ऐक्यवद्धता व्यक्त गरेका थिए ।

काभ्रेपलाञ्चोकको पहरी र सिन्धुपाल्चोकको गिरान्चौर पछि धुर्मुस सुन्तलीले महोत्तरीको मुसहर बस्ती निर्माण गर्न लागेका हुन् । गत वर्ष बैशाख १२ गते गएको भूकम्पबाट प्रभावित भएका बस्ती निर्माणपछि धुर्मुस र सुन्तली जनजनको मनमा बस्न सफल भएका छन् ।

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु